भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं. २०८३/०८४, च.नं. १०, मिति २०८३/४/११ को पत्र बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/३/३२ को निर्णयानुसार तथा स्विकृत सङ्गठन संरचना र दरबन्दी तेरिज साथै राष्ट्रिय किताबखाना (निजामती) को प.सं. २०८३/०८४, च.नं. १५, मिति २०८३/४/२० को पद दर्ता सम्बन्धी पत्रानुसार साविकको शिक्षा तथा मानवस्रोत विकास केन्द्र र केन्द्रीय आयोजना कार्यान्वयन इकाई लाई मर्ज गरी यस कार्यालयको नाम शिक्षा विभाग कायम गरिएको छ।
शिक्षा विभागले शिक्षा तथा खेलकुद मन्त्रालयको मातहतमा रही विभिन्न केन्द्रीय निकाय, प्रदेश सरकार तथा स्थानीय तह एवम् विभिन्न विकास साझेदार संस्थाहरु सँगको समन्वय र सहकार्यमा विद्यालय शिक्षा क्षेत्र योजना, वार्षिक कार्यक्रम तर्जुमा, विभिन्न मापदण्डहरुको विकास तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि समन्वय, सहकार्य र सहजीकरणको काम गर्दछ ।
शिक्षा विभागमा योजना तथा अनुगमन महाशाखा, मानव संसाधन विकास महाशाखा र पूर्वाधार तथा गुणस्तर प्रवर्द्धन महाशाखा गरी तीनओटा महाशाखाहरू रहेका छन् । केन्द्रको प्रमुखको रूपमा महानिर्देशक रहने र प्रत्येक महाशाखाको नेतृत्व उपमहानिर्देशकवाट हुने व्यवस्था रहेको छ । विभाग अन्तर्गत तेह्रओटा शाखाहरू रहेकाछन् भने जिल्लामा केन्द्रको कामलाई सहयोग , समन्वय र सहजीकरण गर्नको लागि प्रत्येक जिल्लामा शिक्षा विकास तथा समन्वय एकाइहरू रहेका छन् ।
शिक्षा विभागको कार्यविवरण
- शिक्षासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रीय प्रतिबद्धता तथा समझौताअनुरूप विद्यालय शिक्षा क्षेत्र योजनालगायतका आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन र समन्वयसम्बन्धी कार्य;
- विद्यालय शिक्षासम्बन्धी द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरू र निकायसँगको समन्वयसम्बन्धी कार्य;
- अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षा कार्यान्वयन कार्ययोजना विकास तथा कार्यान्वयनमा सहजीकरणसम्बन्धी कार्य;
- मानव संसाधन प्रक्षेपण योजना तर्जुमा, त्यसअनुरूप शैक्षिक योजना, कार्यक्रम विकास एवम् मानव संसाधन विकास योजना तयारीसम्बन्धी कार्य;
- विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि अध्ययन अनुसन्धान गर्ने गराउने तथा राष्ट्रिय गुणस्तर मापदण्ड निर्धारण तथा अनुगमनसम्बन्धी कार्य;
- प्रदेश र स्थानीय तहबाट माग भएबमोजिम प्राविधिक विषयमा सहजीकरण एवम् समन्वयसम्बन्धी कार्य;
- विद्यालय शिक्षाको एकीकृत शैक्षिक सूचनाहरु प्रकाशन, व्यवस्थापन र प्रबोधीकरणसम्बन्धी कार्य;
- विद्यालय शिक्षाका लागि भौतिक सुविधासहितको न्यूनतम सिकाई अवस्थाको योजना निर्माण तथा कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन एवम् सहजीकरणसम्बन्धी कार्य;
- प्रारम्भिक बाल विकास तथा शिशु शिक्षासम्बन्धी नीति तथा मापदण्ड निर्धारण एवम् कार्यक्रम सञ्चालनको समन्वयसम्बन्धी कार्य;
- माध्यमिक शिक्षातर्फ साधारण तथा प्राविधिक शिक्षाका लागि आवश्यक नीतिगत प्रबन्ध र सहजीकरण;
- शिक्षण संस्थाको स्थापना र सञ्चालनको न्यूनतम राष्ट्रिय मापदण्ड निर्धारण तथा आवश्यक समन्वय, सहजीकरण र अनुगमनसम्बन्धी कार्य;
- विद्यालयहरूको भौतिक पूर्वाधार विकास, पुनर्निमाण र प्रबलीकरण कार्यका लागि नेतृत्वदायी भूमिकासम्बन्धी कार्य;
- विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोगका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन एवम् सहजीकरणसम्बन्धी कार्य;
- विद्यालय शिक्षामा पहुँच बढ़ाउन छात्रवृत्ति, दिवा खाजा, स्यानेटरी प्याडलगायतका प्रोत्साहन कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सहजीकरणसम्बन्धी कार्य;
- शिक्षक व्यवस्थापन तथा विकासका लागि मापदण्ड तर्जुमा तथा कार्यान्वयनमा सहजीकरणसम्बन्धी कार्य;
- सेवाकालीन शिक्षक तालिमका लागि पाठ्यक्रमको ढाँचा निर्माण एवम् स्वीकृति, कोर्स तथा स्रोत सामग्री विकास, प्रशिक्षक तयारी, तालिम मापदण्ड विकास, तालिमको प्रमाणीकरण तथा समकक्षता निर्धारणसम्बन्धी कार्य;
- प्रदेशअन्तर्गत शिक्षा तालिम केन्द्रहरूलाई प्राविधिक सहयोग, समन्वय र सहजीकरणसम्बन्धी कार्य;
- शिक्षक तालिमसम्बन्धी नीति, मापदण्ड र स्तरीकरण, पाठ्यक्रम प्रारुप, योग्यता निर्धारण, सिप परीक्षणको मापदण्ड तथा तालिम केन्द्रसँगको समन्वय, समावेशी शिक्षा, लैङ्गिक समविकास, मातृभाषा, तथा विशेष शिक्षासम्बन्धी कार्य;
- विद्यालयमा हुनसक्ने विपत् जोखिम न्यूनीकरणका लागि सुरक्षित विद्यालय नीति तथा एकीकृत विद्यालय सुरक्षासम्बन्धी कार्यक्रमहरूको विकास तथा कार्यान्वयनसम्बन्धी कार्य;
- नमुना विद्यालय विकास, ठूला विद्यालय प्राविधिक धार, विज्ञान शिक्षा प्रवर्द्धन कार्यक्रम सञ्चालनमा समन्वय र सहजीकरणसम्बन्धी कार्य;
- परम्परागत, वैकल्पिक एवम् खुला शिक्षा तथा निरन्तर सिकाइसम्बन्धी नीति एवम् मापदण्ड निर्धारण तथा कार्यान्वयनमा सहजीकरणसम्बन्धी कार्य;
- विभिन्न तहमा शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक सामग्रीको सूची विकास, तालिम पाठ्यक्रम तथा सन्दर्भ सामग्री विकास र प्रमाणीकरण, नमुना तालिम सामग्री उत्पादन तथा वितरणसम्बन्धी कार्य;
- भाषिक, लैङ्गिकलगायतका विविधतालाई व्यवस्थापन गर्न समावेशी शिक्षा नीतिअनुरूपका नमूना कार्यक्रमहरू तर्जुमा एवम् कार्यान्वयनसम्बन्धी कार्य;
- समावेशी शिक्षा, लैङ्गिक समविकास तथा विशेष शिक्षासम्बन्धी कार्य;
- विद्यालय पोषण, बालमैत्री विद्यालयसम्बन्धी सहजीकरण तथा सबलीकरणका कार्य;
- शिक्षक तथा शिक्षा प्रशासनमा कार्यरत जनशक्तिको क्षमता विकाससम्बन्धी मापदण्ड विकास, कार्यक्रम तर्जुमा, कार्यान्वयन र प्रमाणीकरणसम्बन्धी कार्य;
- दूर शिक्षा/खुला सिकाई कार्यक्रमका लागि, श्रव्य तथा श्रव्यदृष्य सामग्री विकास एवम् प्रसारण, कार्यक्रम सञ्चालन एवम् समन्वयसम्बन्धी कार्य;
- अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, आजीवन सिकाई तथा सामुदायिक सिकाई केन्द्रको नीति तर्जुमा, योजना विकास र नियमनसम्बन्धी कार्य;
- केन्द्रमा कार्यरत कर्मचारीको व्यवस्थापन, वृत्ति विकास, क्षमता विकास र आन्तरिक व्यवस्थासम्बन्धी कार्य;
- मन्त्रालयबाट तोकिएबमोजिमका अन्य कार्यहरू।