आकार चिन्ने खेल

आज हामी हाम्रो कक्षामा रहेका अपाङ्गता भएका लगायत सबै बालबालिकाहरूलाई “आकार चिन्ने खेल”  खेलाउने विधिबारे सिक्ने छौँ । यस खेलले बालबालिकाहरूलाई विभिन्न आकारका नाम सिक्न सहयोग पुर्‍याउनका साथै आँखा र हातको समन्वय विकासमा पनि मद्दत पुग्छ । साथै यो खेलले बालबालिकाहरूलाई अतिरिक्त मनोरञ्जन प्रदान गर्दछ ।

यो खेल खेल्नका लागि आवश्यक सामग्रीहरू:

  • विभिन्न आकारहरू, जस्तै- Circle, Triangle, Heart, Start आदि भएका केही कार्डहरू
  • हरेक कुनामा कार्डमा भएका आकार वा चित्र अङ्कित एउटा डाइस ।
  • यदि कक्षामा दृष्टिसम्बन्धी कठिनाइ वा दृष्टिविहीन भएका बालबालिका छन् भने कार्ड र डाइसको आकारलाई ठुलो बनाउने साथै कार्ड र डाइसमा भएका आकारहरूलाई विद्यार्थीले स्पर्श गर्न सक्ने गरी तयार गर्नुपर्छ । यसका लागि कार्ड र डाइसमा खस्रो कागज (जस्तै स्यान्ड पेपर) वा अन्य सामग्री टाँस्न सकिन्छ ।
  • डाइस र कार्डहरूमा स्पर्श गर्न सक्ने सतहको प्रयोग गर्दा श्रवणदृष्टिविहीन बालबालिकाहरूलाई पनि खेलमा सहभागी हुन सहज हुन्छ ।
  • ठुलो आकारको डाइसले सूक्ष्म मांसपेशी विकासमा समस्या भएका बालबालिकाहरूलाई पनि सहज हुन्छ ।

सबै बालबालिकाहरूलाई सहभागी गराएर खेलाउने तरिका:

  • बालबालिकाहरूलाई तीन तीन जनाको सानो सानो समूहमा विभाजन गरेर गोलो घेरामा बस्न लगाउने । अपाङ्गता भएका र नभएका बालबालिकाहरूलाई सँगै राखेर यो खेल खेलाउनुपर्छ ।
  • त्यसपछि शिक्षकले सर्वप्रथम सबै बालबालिकाहरूलाई डाइस र कार्ड देखाउँदै त्यहाँ भएका आकारको नाम भन्ने र बालबालिकाहरूलाई पनि भन्न लगाउने । दृष्टिसम्बन्धी कठिनाइ भएका बालबालिकाहरूलाई भने स्पर्श गर्न मिल्ने कार्ड र डाइस दिएर आकार चिनाउने । बहिरा बालबालिकाहरूलाई सके साङ्केतिक भाषा नसके प्रचलित स्थानीय सङ्केत र इसाराको माध्यमबाट खेलमा समावेश गराउने । तर शिक्षकले निर्देशन प्रस्ट रूपमा बुझेको निश्चित गर्नु आवश्यक हुन्छ।
  • अब हरेक बालबालिकालाई फरक फरक आकार भएका २-२ ओटा कार्ड दिने । यहाँ पनि दृष्टिसम्बन्धी कठिनाइ भएका बालबालिकालाई स्पर्श गर्न सकिने कार्ड दिनुपर्छ । यदि कुनै विद्यार्थीलाई मांसपेशीसम्बन्धी कठिनाइ छ भने ठुलो आकारका कार्ड र डाइसको प्रयोग गर्नुपर्छ । शिक्षकले खेलको प्रक्रिया तथा सामग्रीको प्रयोग विधिबारे अपाङ्गतालगायत सबै बालबालिकाहरूले बुझ्ने गरी जानकारी दिनुपर्दछ जसले सञ्चारमा कठिनाइ भएका बालबालिकाहरू पनि समान रूपमा सहभागी हुन् सक्छन् । यसका लागि यथासम्भव खेल बारेको जानकारी श्रव्य तथा श्रव्यदृश्य सामग्री र पर्याप्त सङ्केतहरूको प्रयोग गर्नुपर्दछ ।
  • सबैभन्दा पहिला एक जना विद्यार्थीलाई डाइस फ्याँक्न लगाउने । त्यसपछि डाइसमा आएको आकार र ऊसँग भएका कार्डको आकार एउटै पर्‍यो कि परेन भनेर भन्न लगाउने । दृष्टिविहीन विद्यार्थीले डाइस फ्याँकेको भए स्पर्शका माध्यमबाट डाइसको आकार चिन्न र आफूसँग सो कार्ड छ कि छैन भनेर भन्न लगाउने । यसै गरी बहिरा वा अन्य सञ्चारमा कठिनाइ भएका बालबालिकालाई दृश्यात्मक, सङ्केत वा इसाराको माध्यमबाट आफ्नो कुरा व्यक्त गर्न लगाउने ।
  • शारीरिक अपाङ्गता वा अरू कारणले कुनै बालबालिकालाई डाइस फ्याँक्न सहयोग चाहिने भए शिक्षक वा अर्को विद्यार्थीले डाइस फ्याँक्नका लागि सहयोग गर्ने । यसै गरी सिकाइमा समस्या भएका वा अन्य शारीरिक वा बौद्धिक कठिनाइ भएका बालबालिकालाई डाइस फ्याँक्न वा कार्ड जाँच्न थप समय चाहिन सक्ने हुनाले उनीहरूलाई अरूलाई भन्दा थप समय प्रदान गर्ने ।
  • यदि कुनै विद्यार्थीसँग भएको कार्ड र उसले फ्याँकेको डाइसमा एउटै आकार आएमा उसले फेरि डाइस फ्याँक्न पाउँछ । सबै बालबालिकाले उसलाई हौसला दिन ताली बजाउँछन् । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई साथीले फेरि मौका पायो कि पाएन भनेर शिक्षक वा अर्को साथीले बताउने । बहिरा बालबालिका सहभागी भएको खेलमा सबैले ताली बजाउँदा साङ्केतिक भाषा अनुसारको ताली बजाउन सकिन्छ ।
  • यदि डाइसमा आएको आकार र डाइस फ्याँक्ने विद्यार्थीसँग भएको आकार मिलेन  भने डाइस फ्याँक्ने पालो अर्को विद्यार्थीले पाउँछ । यो खेल क्रमैसँग चल्दै जान्छ र सबै बालबालिकाको खेलमा सहभागिता सुनिश्चित भएको हुनुपर्छ ।
  • यदि कुनै बालबालिकाले समूहमा खेल्न मन पराउँदैनन् भने उनीहरूलाई मन पर्ने साथी छान्न दिएर दुई जनालाई मात्रै वा त्यसो पनि गर्न नचाहने बालबालिकाहरूलाई एक्लै पनि यो खेल खेलाउन सकिन्छ ।