पत्रिकाको प्रयोग गरी खेलिने खेल

आज हामी पत्रिकाको मात्र प्रयोग गरेर बालबालिकाहरूलाई विविध सिप सिकाउने खेल खेलाउन गइरहेका छौँ जसले बालबालिकाहरूको मांशपेशीको विकास गर्न तथा उनीहरूलाई शारीरिक सन्तुलन कायम राख्न सिकाउँछ । यो खेल खेलाउन पत्रिकाको मात्र आवश्यकता पर्छ जुन सबैतिरका बालविकास केन्द्रमा सजिलै उपलब्ध हुन्छन् ।

अब यो खेल सबै बालबालिकाहरूलाई सहभागी गराएर खेलाउने तरिकाबारे जानकारी लिऊँ है त ।

  • सबैभन्दा पहिले शिक्षकले पत्रिकालाई ठुलो पारेर भुइँमा ओछ्याउने । त्यसमाथि बालबालिकालाई उभिन लगाउने । उनीहरूलाई एक खुट्टाले मात्र उभिन लगाउने वा नाच्ने प्रयास गर्न लगाउने । दृष्टिसम्बन्धी कठिनाइ भएका बालबालिकाहरूलाई खेलमा सहभागी गराउन पहिला उनीहरूलाई पत्रिका ओछ्याएको सतह छाम्न दिने । बहिरा तथा अन्य सञ्चारमा कठिनाइ भएका बालबालिकाहरूलाई सके साङ्केतिक भाषा नसके स्थानीय रूपमा प्रचलित सङ्केत वा अन्य चित्रात्मक कार्डहरूबाट खेलको निर्देशन दिने ।
  • अपाङ्गता वा अन्य कारणले शारीरिक कठिनाइ भएका बालबालिकाहरूलाई बसेर नै खेलमा सहभागी गराउने ।
  • अब यो खेललाई अलिकति चुनौतीपूर्ण बनाउनका लागि पत्रिकालाई आधा भागमा पट्याउने । सानो सतहमा फेरि उभिन, नाच्न र एक खुट्टाले उभिन लगाउने । यसरी पत्रिकालाई पट्याउन लगाउँदा दृष्टिविहीन बालबालिकाहरूलाई फेरि पनि सतहलाई महसुस गर्न दिने । बहिरा बालबालिकाहरूलाई सङ्केतका माध्यमबाट जानकारी दिने । मांशपेशीसम्बन्धी कठिनाइ भएका वा अन्य सहयोग चाहिने बालबालिकाहरूका लागि पत्रिकालाई पूरै आधा नबनाएर अलिकति ठुलो नै राख्न सकिन्छ । शिक्षक वा अन्य विद्यार्थीले पनि सहयोग चाहिने बालबालिकाहरूलाई आवश्यकताअनुसार सहयोग गर्न सक्छन् ।
  • यसरी नै खेललाई रोमाञ्चक बनाउन, पत्रिकालाई पट्याएर सानो बनाउँदै सो सानो सतहमा बालबालिकाहरूलाई विभिन्न गतिविधि गराउने ।

यसरी जताततै उपलब्ध हुने पत्रिकाहरूको मात्र प्रयोग गरेर हामी बालबालिकाहरूको शारीरिक, सामाजिक तथा बौद्धिक विकासका लागि यो खेल खेलाउन सक्छौँ । यो खेलमा अपाङ्गता भएकासहित सबै बालबालिकाहरूले सक्रिय रूपमा सहभागी हुन सकून् भन्नका निमित्त खेल विधिमा बालबालिकाहरूको अवस्था र आवश्यकताअनुसार अनुकूलन गर्न सकिन्छ ।