सम्झना खेल (KIM GAME)

आज हामी बालविकास केन्द्रमा रहेका अपाङ्गता भएका लगायत सबै बालबालिकाहरूलाई सहभागी गराएर “सम्झना खेल” खेल्ने छौँ । यस खेललाई अन्तर्राष्ट्रिय रूपमा किम गेम पनि भन्ने गरिन्छ । यस खेलले बालबालिकाहरूको विभिन्न आकार, रङ वा वस्तुहरूको नाम थाहा पाउने सिपका साथै उनीहरूको स्मरण शक्तिको समेत विकास गर्छ ।

यस खेल खेल्नक लागि आवश्यक सामग्रीहरूः

  • कक्षाकोठामा पाइने विभिन्न सामग्रीहरू
  • यसै गरी खेलमा प्रयोग भएका सामग्रीहरूको अर्को सेट वा ती सामग्रीहरूको चित्र भएका कार्डहरू
  • आवाज आउने विभिन्न सामग्रीहरू
  • सामग्रीहरू लुकाउनका लागि छोप्ने कपडा वा ढाक्ने कार्टुन बक्स ।

अब सबै बालबालिकाहरूलाई सहभागी गरेर किम गेम खेलाउने तरिकाबारे जानकारी लिऊँ है ।

  • बालबालिकाहरूलाई शिक्षकले आफ्नो अगाडि बस्न लगाउने । सबैभन्दा पहिले शिक्षकले खेलको जानकारी दिने र यो विभिन्न वस्तुहरू सम्झने खेल हो भनेर बताउने । यसरी जानकारी दिँदा सबै विद्यार्थीको अवस्थाअनुसार उनीहरूलाई उपयुक्त हुने विधिको समेत प्रयोग गर्ने, जस्तै-बहिरा बालबालिकाहरूको सहजताका लागि खेलको जानकारी सके साङ्केतिक भाषा, नसके स्थानीय रूपमा प्रचलित सङ्केत वा इसाराहरूको प्रयोग गरेर दिने । अन्य सिकाइ तथा सञ्चारमा कठिनाइ भएका बालबालिकाहरूको सहजताका लागि सङ्केत वा चित्रहरूको समेत प्रयोग गर्न सकिन्छ । यसरी मौखिक रूपका साथै अन्य थप विधिहरूको प्रयोग गरेर कुनै पनि जानकारी दिँदा त्यो सबै बालबालिकाहरूको लागि पहुँचयुक्त हुन्छ ।
  • अब शिक्षकले सबै सामग्रीहरूलाई आफ्नो अगाडि राख्ने र सबै सामानहरूको नाम बताउने । यसरी नाम भन्दा सङ्केत कार्ड वा अर्को सेटमा भएका तिनै सामग्रीहरूलाई देखाएर बहिरा बालबालिकाहरू वा सञ्चार गर्न कठिनाइ हुने अरू बालबालिकाहरूलाई बुझाउने । दृष्टिविहीन बालबालिकाहरूलाई सबै सामग्रीहरू स्पर्श तथा महसुससमेत गर्न दिने ।
  • सबै बालबालिकाहरूले सबै सामग्रीहरूलाई राम्रोसँग चिनेको सुनिश्चित गरिसकेपछि शिक्षकले सामग्रीहरूलाई छोप्ने । यसको लागि एउटा कार्टुन बक्स वा छोप्ने कपडा आदिको प्रयोग गर्न सकिन्छ । त्यसपछि बालबालिकाहरूलाई एकै छिन आँखा बन्द गर्न लगाउने । त्यही समयमा शिक्षकले सामग्रीहरूबाट एउटालाई लुकाउने ।
  • अब एक जना विद्यार्थीलाई झोलामा कुन सामग्री अघि थियो, अहिले छैन भनेर सोध्ने । उसले उत्तर दिइसकेपछि अन्य बालबालिकाहरूलाई पनि मिल्यो कि मिलेन भनेर सोध्ने । बहिरा वा सञ्चार गर्न कठिनाइ हुने बालबालिकाहरूले उत्तर दिने बेला दोस्रो सेटमा भएका सामान वा चित्र कार्डमा देखाएर उत्तर दिन सक्नेछन् । यसै गरी दृष्टिविहीन वा दृष्टिसम्बन्धी कठिनाइ भएका बालबालिकाहरूलाई एउटा सामग्री लुकाउनुभन्दा अगाडि तथा लुकाइसकेपछि दुबै पटक सामग्रीहरू स्पर्श तथा महसुस गर्न दिने । अनि दोस्रो पटकमा कुन सामग्री छैन भनेर भन्न लगाउने ।
  • यसै गरी दृष्टिविहीन तथा दृष्टिसम्बन्धी कठिनाइ भएका बालबालिकाहरूको पालो आएको बेला दृश्यात्मक सामग्रीको सट्टा फरक फरक आवाज आउने सामग्री प्रयोग गर्न सकिन्छ । यसका लागि सुरूमा सबै सामग्रीहरूबाट आउने आवाज सुनाउने र त्यसको नाम पनि बताउने । त्यसपछि एउटा सामग्री हटाएपछि फेरि बाँकी रहेका सामग्रीहरूको आवाज सुनाउने । अब कुन चाहिँ सामग्री लुकाइयो भनेर भन्न लगाउने ।
  • अन्य सहयोग चाहिने बालबालिकाहरूलाई उनीहरूको आवश्यकताअनुसार थप समय प्रदान गरेर वा अरू साथीसँग समूह बनाइदिएर पनि खेलमा समावेश गराउन सकिन्छ ।
  • एक जना विद्यार्थीको पालो सकिएपछि अरू बालबालिकालाई पनि सोहीअनुसार पालो दिएर खेलाउने ।

यसरी खेल खेलाउँदा प्रयोग हुने सामग्री, नियम र निर्देशनहरूलाई आवश्यकताअनुसार अपाङ्गता समावेशी र अनुकूलन गरी यस खेलमा अपाङ्गता भएका लगायत सबै बालबालिकाहरूलाई समावेश गराउन सकिन्छ ।