स्पर्श खेल

आज हामी हाम्रो कक्षामा रहेका अपाङ्गता भएका लगायत सबै बालबालिकाहरूलाई सहभागी गराएर “स्पर्श खेल” खेल्ने छौँ । यस खेलले बालबालिकाहरूको सामाजिक सिप विकास गर्न र उनीहरूलाई शान्त बनाउन मद्दत गर्छ । सबैभन्दा रमाइलो कुरा भनेको यो खेल खेलाउन कुनै पनि सामग्री चाहिँदैन ।

अब सबै बालबालिकाहरूलाई सहभागी गराएर यो खेल खेलाउने तरिकाबारे जानकारी लिऊँ है त।

  • सबैभन्दा पहिले शिक्षकले बालबालिकाहरूलाई उनीहरूलाई कति ओटा जनावरहरूको नाम आउँछ भनेर सोध्ने र जवाफ लिने । बहिरा तथा सञ्चारमा कठिनाइ भएका बालबालिकाहरूले आफूलाई थाहा भएका जनवारहरूलाई तस्बिरबाट देखाउन सक्छन् ।
  • अब शिक्षकले एक जना विद्यार्थीको हात आफूतिर लिने र उसलाई सबैभन्दा मनपर्ने जनावर कुन हो भनेर सोध्ने । उसले जवाफ दिइसकेपछि, शिक्षकले “ओहो, ल तपाईँलाई यो जनावर मनपर्दो रहेछ, अब त्यो जनावर तपाईँको हातमा कसरी हिँड्छ होला भनेर म देखाउँछु है” भन्ने ।
  • त्यसपछि शिक्षकले आफ्नो औँलाहरूको प्रयोग गरेर विभिन्न जनावर हिँडेको जस्तो गरी बालबालिकाको हातमा हलुका मालिस गर्ने, जस्तै-
  • सर्प: घिस्रने
  • गाई: चार खुट्टा टेकेर हिँड्ने
  • भ्यागुता: उफ्रिने
  • मुसा: छिटो कुद्ने
  • माछा: पौडिने
  • अब बालबालिकालाई पनि आफ्नो साथीलाई त्यसै गर्न दिने ।
  • यसै गरी शिक्षकले कुनै विद्यार्थीको हातमा एउटा जनावर हिँडेजस्तै गरी मालिस गरिसकेपछि यो कुन जनावर हो भनेर सोध्न पनि सकिन्छ । यसरी बहिरा तथा सञ्चारमा कठिनाइ भएका बालबालिकाहरूको पालोमा उनीहरूले उत्तर दिनको लागि जनावरको चित्र कार्ड वा जनावरहरूको कट आउट भएको ब्लकहरूबाट देखाउन सक्छन् ।
  • यसै गरी बहिरा बालबालिकाहरूको हत्केलामा जनावर हिँडेको अनुभव गराउँदा थप समय दिएर बिस्तारै गर्न सकिन्छ ।
  • यसरी साधारण अनुकूलन गरेर नै यो खेल अपाङ्गता भएकासहित सबै बालबालिकाहरू सहभागी भएर सँगै खेल्न सक्ने वातावरण सिर्जना गर्न सकिन्छ ।