शरीरको चित्ररेखा कोर्ने

आज हामी “शरीरको चित्ररेखा कोर्ने” खेल खेल्न सिक्ने छौँ । यस खेलले बालबालिकाहरूको शरीरका विभिन्न अङ्गहरूको नाम थाहा पाउने, चित्र बनाउने र सामाजिक सिपको विकास गर्गन सहयोग गर्छ ।

यो खेल खेल्नका लागि देहायका सामग्रीहरूको आवश्यकता पर्छ:

  • ठुलो आकारको पेपर सिट
  • मार्कर वा कलर पेन
  • स्पर्शयुक्त चित्र बनाउनका लागि खस्रो सतह भएको सामग्री (जस्तै: स्यान्ड पेपर)
  • शरीरका विभिन्न भागहरू देखाउने सङ्केत कार्ड

अब यो खेल सबै बालबालिकाहरूलाई सहभागी गराएर खेलाउने तरिकाबारे जानकारी लिऊँ है ।

  • सबैभन्दा पहिला शिक्षकले खेलको बारेमा बालबालिकाहरूलाई जानकारी दिने । यसरी जानकारी दिँदा सबै बालबालिकाहरूले जानकारी पाएको सुनिश्चित गर्न विभिन्न विधिहरूको प्रयोग गर्ने । उदाहरणका लागि दृष्टिसम्बन्धी कठिनाइ भएका बालबालिकाहरूलाई सामग्रीहरू महसुस गर्न दिने, बहिरा बालबालिकाहरूलाई सके साङ्केतिक भाषा नसके स्थानीय रूपमा प्रचलित सङ्केत तथा इसारामा जानकारी दिने ।
  • अब कागजको सिट ओछ्याउने । कागजमाथि एक जना बालक वा बालिकालाई अनुहारमाथि हेरेर पल्टिन लगाउने । एउटा पेपर सिटले पुगेन भने दुइटालाई सँगै जोडेर ओछ्याउन सकिन्छ ।
  • अब शिक्षकले कलर पेनले बालबालिकाको शरीरको चित्र रेखा कोर्ने । चित्र कोर्दा आफूले के गर्दै छु भनेर मौखिक रूपमा समेत जानकारी दिने । यसो गर्दा दृष्टिसम्बन्धी कठिनाइ भएका बालबालिकाहरूलाई पनि के भइरहेको छ भनेर थाहा हुन्छ ।
  • चित्र बनाइसकेपछि अब सो विद्यार्थीलाई उठाउने र सो चित्र देखाउने । अब शिक्षकले चित्र रेखामा देखाउँदै शरीरका विभिन्न अङ्गको नाम भन्ने र बालबालिकाहरूलाई पनि भन्न लगाउने । सञ्चारमा कठिनाइ भएका बालबालिकाहरूलाई शिक्षकले चित्र कार्डमा शरीरका अङ्ग देखाउने र उनीहरूलाई पनि आफ्नो शरीरको अङ्ग देखाउन लगाउन सकिन्छ ।
  • दृष्टिसम्बन्धी कठिनाइ भएका बालबालिकाहरूलाई चित्ररेखा महसुस गर्नका लागि रेखामाथि खस्रो कागज, जस्तै- स्यान्ड पेपर टाँस्न सकिन्छ । त्यसपछि उनीहरूलाई चित्ररेखा महसुस गराउँदै शिक्षकले विभिन्न अङ्गको नाम चिनाउने ।
  • अब बालबालिकालाई पनि एक अर्काको शरीरको चित्ररेखा कोर्न लगाउने । दृष्टिविहीन बालबालिकाहरूलाई अन्य साथीहरूसँग समूह बनाएर, चित्र कोर्नुका साथै सेन्ड पेपर टाँस्न पनि सिकाउन सकिन्छ । थप समय वा सहयोग चाहिने विद्यार्थीहरूलाई आवश्यकताअनुसार सहयोग गर्नुपर्दछ ।
  • बालबालिकाको सूक्ष्म अङ्गको विकासका लागि चित्र रेखा (आउट लाइन) भएको ठाउँमा बालबालिकालाई पेपर च्यात्न लगाउन पनि सकिन्छ ।
  • सबै जना मिलेर चित्रमा रङ्ग पनि लगाउन सकिन्छ ।

यसरी बालबालिकाहरूका लागि रमाइलो गर्दै, शरीरका अङ्ग चिन्ने सिप विकासका लागि यो खेल निकै उपयुक्त हुने गर्दछ । साथै बालबालिकाहरूको आवश्यकता र अवस्थाअनुसार खेलका सामग्री तथा निर्देशनलाई अपाङ्गता समावेशी बनाएर वा अनुकूलन गरेर अपाङ्गता भएका लगायत सबै बालबालिकाहरूलाई यस खेलमा समावेश गराउन सकिन्छ ।