आज कस्तो लाग्यो ?

सिकाइ उद्देश्य

• संवेग थाहा पाउनेछन्, र • आफ्नो भावना बताउन सक्नेछन् ।

आवश्यक समाग्रीहरू

झोला वा बट्टा ।

मुल्याङ्कन

आफ्नो भावना बताउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

कक्षाकोठाको एउटा कुनामा बालबालिकाले भेट्ने गरी ३ ओटा झोला वा बट्टा राखिदिने । पहिलोमा खुशी वा रमाइलो, दोस्रोमा दु:खी वा नरमाइलो र तेस्रोमा ठीकै (न खुशी वा दु:खी) अनुभूति राख्ने झोला वा बट्टा भनेर स्पष्ट लेखिदिने । बालबालिकालाई रमाइलो भएको वा खुशी भएको बेलामा रमाइलो लेखेको झोलामा ढुङ्गा वा कागज राख्न लगाउने र रिसाएको वा दु:खी भएको बेला नरमाइलो लेखेको झोलामा ढुङ्गा वा कागज राख्न लगाउने । खुशी वा दु:खी केही नभएको बेला तेस्रो बट्टा वा झोलामा ढुङ्गा वा कागज राख्न लगाउने । झोलामा राख्न नसक्नेलाई इशारा गरेर झोला देखाउन लगाउने र शिक्षकले राखिदिने । प्रत्येक दिन घर जाने बेलामा सँगै बसेर तीनै ओटा झोला वा बट्टा खोल्ने र ढुङ्गा वा कागज केमा धेरै छ किन र के कुराले (खुशी वा दु:खी) त्यस्तो लाग्यो भनी छलफल गर्ने ।