स्मरण बढाउने खेल

सिकाइ उद्देश्य

• स्मरण शक्तिको वृद्धि र विकास हुनेछ, • विभिन्न तरकारीको नाम भन्न सक्नेछन्, र • दैनिक जीवनमा प्रयोग भएका तरकारीहरूको नाम भन्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

स्थानीय परिवेशमा पाइने तरकारी, तरकारीको चित्र भएको दुई-दुईओटा चित्र पत्ती, इम्बोस्ड गरिएका तरकारीको २/२ ओटा पत्ती ।

मुल्याङ्कन

जोडा मिलाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

कम्तीमा ५ ओटा तरकारीको २/२ ओटा सेट इम्बोस्ड गरेका चित्रपत्ती तयार गर्ने । प्रत्येक तरकारीको चित्रपत्ती देखाउँदै नाम भन्ने र बालबालिकालाई पनि छाम्न दिँदै नाम भन्न लगाउने । बालबालिकालाई एकएक चित्रपत्ती दिएर तरकारीको नाम भन्न लगाउने । शिक्षकले स्मरण खेल खेलेर देखाउने । जसअनुसार टेबलमा वा भूइँमा तरकारीको चित्रपत्ती फिँजाएर (घोप्टो पारी) पालैपालो, एकएक जनालाई एउटा/एउटा गरी चित्रपत्ती पल्टाउँदै छाम्न र चित्रको नाम भन्दै त्यसको जोडा खोज्न लगाउने । जोडा मिलेमा चित्रपत्ती आफूसँगै राख्ने र नमिलेमा सो चित्र सोही ठाउँमा (घोप्टो पारी) राख्ने र अर्को साथीलाई पालो दिने । जोडा मिलेका चित्रपत्ती जोसँग धेरै हुन्छन् उही यो खेलको विजेता हुन्छ । यो खेल बालबालिकालाई साथीसँग जोडा बनाएर पनि खेलाउन सकिन्छ । विभिन्न फलफूल, रङ्ग आदिका पनि यसै गरी ठोस वस्तु, चित्र र मोडलहरूको प्रयोग गर्दै खेल बनाई खेलाउन सकिन्छ ।