खन्याउन तथा सार्न सिकाउने खेल

आज हामी हाम्रो कक्षामा रहेका  अपाङ्गता भएका र अपाङ्गता नभएका सबै बालबालिकाहरूलाई “आकार चिन्ने खेल” खेलाउने विधिबारे सिक्ने छौँ । यस क्रियाकलापले बालबालिकाहरूका सूक्ष्म अङ्गको विकास गर्न,  स्नायु प्रणालीलाई बलियो बनाउन,  आँखा तथा हातको समन्वय विकास गर्न सहयोग गर्छ । यसैले यस खेलमार्फत बालबालिकाहरूले दायाँ बाँया जस्ता दिशाका बारेमा बुझ्ने, धैर्य हुन सिक्ने तथा दैनिक जीवनका सिप पनि सिक्न सक्छन् ।

खन्याउन तथा सार्न सिकाउने खेलका लागि हामीलाई चाहिने सामग्रीहरू यस प्रकार छन् :

  • कचौरा वा अन्य भाँडा
  • चम्चा
  • चिम्टा
  • जग वा मग
  • गेडागुडी
  • ठुला आकारमा काटिएका तरकारी
  • चिउरा
  • पानी

अब सबै बालबालिकाहरूलाई सहभागी गराएर यो खेल खेलाउने विधि सिकौँ है त ।

  • सबैभन्दा पहिला शिक्षकले बालबालिकाहरूलाई यस खेलका बारेमा बताउने । सबै सामग्रीहरू देखाउने र तिनीहरूको नाम भन्ने, जस्तै- चम्चा, कचौरा, जग, चिम्टा आदि । दृष्टिविहीनसहित सबै बालबालिकाहरूलाई सामग्रीहरू स्पर्श तथा महसुससमेत गर्न दिने ।
  • यसरी खेलको बारेमा जानकारी दिँदा मौखिकका साथै सङ्केत तथा दृश्यात्मक माध्यमको प्रयोग गर्न सकिन्छ ।
  • बालबालिकाहरूलाई गेडागुडी भएको कचौरा, खाली कचौरा तथा चम्चा दिने । सो चम्चाको प्रयोग गरेर बिस्तारै भरिएको भाँडाबाट खाली भाँडामा गेडागुडीलाई सार्न लगाउने । एकपटक शिक्षकले सो कार्य गरेर देखाउन पनि सक्नुहुन्छ । दृष्टिविहीन बालबालिकालाई भरिएको र खाली कचौरालाई महसुस गर्न दिने र चम्चाले सामग्रीलाई एउटाबाट अर्कोमा सार्दासमेत हातले बिस्तारै स्पर्श गर्दै सार्ने भनेर सिकाउने ।
  • बहिरा बालबालिकालाई सके साङ्केतिक भाषा नसके स्थानीय रूपमा प्रचलित सङ्केतको प्रयोग गरेर खेल विधि सिकाउने ।
  • एउटा कचौराबाट अर्कोमा सार्दा अलि अलि गेडागुडी पोखियो भने सबै सामग्री सारिसकेपछि पोखिएका गेडागुडी पनि कचौरामा हाल्ने भनेर सिकाउने ।
  • चम्चाको प्रयोगबाट गेडागुडी सारिसकेपछि एउटा भरिएको मगबाट चामल वा चिउरा खाली मगमा खन्याउन लगाउने । यसका लागि पनि बालबालिकाहरूको विविध आवश्यकताको सम्बोधन गर्दै अगाडि छलफल भएअनुसार खेल विधिलाई अनुकूलन गर्ने ।
  • अन्त्यमा चिम्टाको प्रयोग गरेर ठुला आकारमा काटिएका तरकारीलाई एउटा भाँडाबाट अर्कोमा सार्न सिकाउने ।

यसरी बालबालिकाहरूलाई दैनिक जीवनको सिप सिकाउन र उनीहरूको सूक्ष्म मांसपेशीको विकास गर्न यो खेल निकै सहयोगी हुन्छ । यो खेललाई बालबालिकाहरूको आवश्यकता र अवस्थाअनुसार अनुकूलन गरेर अपाङ्गता भएकासहित सबै बालबालिकालाई सँगै सहभागी गराउन सकिन्छ ।