सामग्री अनुमान गर्ने खेल

आज हामी हाम्रो कक्षामा रहेका अपाङ्गता भएका लगायत सबै बालबालिकाहरूलाई सहभागी गराएर “सतह पत्ता लगाउने र सामग्री अनुमान गर्ने खेल” खेल्ने छौँ । यस खेलले बालबालिकाहरूको स्पर्श इन्द्रियलाई विकास गर्ने तथा झोलामा रहेका सामानहरूलाई नहेरी चिन्न वा तिनीहरूबारे अनुमान गर्न मद्दत गर्छ ।

यो खेल खेल्नका लागि आवश्यक सामग्रीहरू:

  • झोला
  • कक्षाकोठामा पाइने विभिन्न सामग्रीहरू
  • यसै गरी खेलमा प्रयोग भएका सामग्रीहरूको अर्को सेट वा ती सामग्रीहरूको चित्र भएका कार्डहरू

अब यो खेल सबै बालबालिकाहरूलाई सहभागी गराएर खेलाउने तरिकाबारे जानकारी लिऊँ है त।

  • बालबालिकाहरूलाई गोलो घेरामा बस्न लगाउने । सबैभन्दा शिक्षकले खेलको जानकारी दिने । यसरी जानकारी दिँदा सबै विद्यार्थीको अवस्थाअनुसार उनीहरूलाई उपयुक्त हुने विधिको समेत प्रयोग गर्ने, जस्तै- बहिरा बालबालिकाहरूको सहजताका लागि खेलको जानकारी सके साङ्केतिक भाषा, नसके स्थानीय रूपमा प्रचलित सङ्केत वा इसाराहरूको प्रयोग गरेर दिने । अन्य सिकाइ तथा सञ्चारमा कठिनाइ भएका बालबालिकाहरूको सहजताका लागि सङ्केत वा चित्रहरूको समेत प्रयोग गर्न सकिन्छ ।
  • अब शिक्षकले झोलामा भएका सबै सामग्रीलाई एक एक गरी निकाल्दै तिनीहरूको नाम भन्ने । यसरी नाम भन्दा सङ्केत कार्ड वा अर्को सेटमा भएका तिनै सामग्रीहरूलाई देखाएर बहिरा बालबालिकाहरू वा सञ्चार गर्न कठिनाइ हुने अरू बालबालिकाहरूलाई बुझाउने ।
  • त्यसपछि सबै बालबालिकाहरूलाई पनि ती सामग्री हेर्न, स्पर्श र महसुस गर्न दिने ।
  • सबै बालबालिकाहरूले सबै सामग्रीहरूलाई राम्रोसँग चिनेको सुनिश्चित गरिसकेपछि शिक्षकले फेरि सबै सामग्रीहरूलाई झोलामा राख्ने ।
  • अब एक एक गरी बालबालिकाहरूलाई झोलामा हात हालेर एउटा सामग्री छाम्ने र त्यो के होला भन्न लगाउने । त्यसपछि त्यो सामग्री बाहिर निकालेर मिल्यो कि मिलेन भनेर हेर्ने । बहिरा वा सञ्चार गर्न कठिनाइ हुने बालबालिकाहरूले उत्तर दिने बेला उनीहरूलाई झोलामा भएका सामानहरूको दोस्रो सेटमा वा चित्र कार्डमा देखाएर सो जानकारी दिन सक्ने छन् ।
  • अन्य सहयोग चाहिने बालबालिकाहरूलाई उनीहरूको आवश्यकताअनुसार थप समय प्रदान गरेर वा अरू साथीसँग समूह बनाइदिएर पनि खेलमा समावेश गराउन सकिन्छ ।
  • एक जना विद्यार्थीको पालो सकिएपछि फेरि त्यो सामग्री झोलामा हाल्ने र अरू बालबालिकालाई पालो दिने ।

यसरी खेल खेलाउँदा प्रयोग हुने सामग्री, नियम र निर्देशनहरूलाई आवश्यकताअनुसार अपाङ्गता समावेशी र अनुकूलन गरी यो खेलमा अपाङ्गता भएका लगायत सबै बालबालिकाहरूलाई समावेश गराउन सकिन्छ ।