स्वाद थाहा पाउने खेल

आज हामी हाम्रो कक्षाका अपाङ्गता भएका लगायत सबै बालबालिकाहरूलाई सहभागी गराएर स्वाद थाहा पाउने खेलका बारेमा जानकारी हासिल गर्ने छौँ । यस खेलले बालबालिकाहरूलाई विभिन्न स्वादहरू र तिनीहरूको बिचको भिन्नता थाहा पाउन सिकाउँछ ।

कक्षामा यो खेल खेलाउनका लागि आवश्यक सामग्रीहरू:

  • आठओटा बोतल वा कचौरा वा प्लास्टिकका गिलास (२ ओटामा- सादा पानी, २ ओटामा- नुन पानी, २ ओटामा- चिनी पानी, २ ओटामा- कागती पानी)
  • आठ ओटा ड्रपर (थोपा चुहाउने सामग्री)
  • ड्रपर नभएको खण्डमा चम्चाको पनि प्रयोग गर्न सकिन्छ ।
  • सञ्चार गर्न कठिनाइ भएका बालबालिकाहरूका लागि स्वादको जानकारी दिन र पछि उनीहरूबाट उत्तर लिनका लागि हरेक स्वादको सङ्केत भएको कार्डहरू प्रयोग गर्न सकिन्छ । यसको सट्टा जुन वस्तुको स्वाद हो, त्यही वस्तु पनि कचौरा वा गिलासमा राखेर उनीहरूलाई देखाउन सकिन्छ ।
  • बालबालिकाहरूलाई मुख कुल्ला गर्न थप पानी दिनुपर्छ।

अब यो खेल सबै बालबालिकाहरूलाई सहभागी गराएर खेलाउने तरिकाबारे जानकारी लिऊँ है त।

  • बालबालिकाहरूलाई शिक्षकको अगाडि बस्न लगाउने ।
  • त्यसपछि शिक्षकले सामग्री तथा खेलका बारेमा बालबालिकाहरूलाई जानकारी गराउने । यसरी जानकारी दिँदा श्रव्य वा श्रव्य दृश्यका माध्यमबाट (जस्तै: शिक्षकले भन्नुका साथै तस्बिर, चित्र, सङ्केत आदिको प्रयोग गरेर) सबै बालबालिकालाई जानकारी दिने ।
  • अब शिक्षकले हरेक ग्लासबाट ड्रपरले पहिला आफूले १ थोपा लिने र बालबालिकाहरूलाई पनि खुवाइदिने र त्यसको स्वाद, जस्तै- सादा पानी, गुलियो, नुनिलो, अमिलो भन्ने र बालबालिकाहरूलाई पनि भन्न लगाउने । दृष्टिविहीन बालबालिकालाई के हुँदै छ भनेर सँगसँगै जानकारी दिने । सञ्चारमा कठिनाइ भएका बालबालिकाहरूलाई कुनै पनि स्वाद चखाएपछि त्यो स्वादको चित्र कार्ड वा त्यो वस्तु (जस्तै: नुनिलो भए नुन, गुलियो भए चिनी, अमिलो भए कागतीको टुक्रा) देखाउने ।
  • यसरी सबै बालबालिकाहरूलाई स्वादको जानकारी दिइसकेपछि अब अरू बाँकी गिलास वा बोतलमा भएका विभिन्न स्वादका पानी बालबालिकाहरूलाई खुवाउने र त्यो कुन स्वाद हो भनेर भन्न लगाउने । फेरि पनि सञ्चारमा कठिनाइ भएका बालबालिकाहरूलाई आफ्नो उत्तर भन्न सङ्केत कार्ड वा स्वादयुक्त वस्तु, जस्तै- नुन, चिनी वा कागती देखाउन लगाउने ।
  • यो खेललाई एकै पटक दुई तीन जना बालबालिकाहरूलाई सँगै खेलाउँदा बालबालिकाले सामाजिक सिप विकास गर्नुका साथै निकै रमाइलो मान्छन् ।
  • यो क्रियाकलापमा थोरै परिवर्तन गरेर यसलाई बासना वा गन्ध थाहा पाउने खेल पनि बनाउन सकिन्छ । त्यसका लागि धूप, लसुन, ल्वाँग, सुकुमेल आदि जस्ता बास्ना आउने सामग्रीको प्रयोग गर्न सकिन्छ ।

यसरी बालबालिकाहरूलाई विभिन्न स्वादहरूको जानकारी प्रदान गर्न तथा स्वाद वा बास्नाको भिन्नताबारे जानकारी दिन यो खेल खेलाउन सकिन्छ । यस्ता खेलहरूमा अपाङ्गता भएका लगायत सबै बालबालिका सँगै सहभागी हुन सक्छन् तर यो खेल खेलाउँदा प्रयोग हुने सामग्री, नियम र निर्देशनलाई आवश्यकताअनुसार अपाङ्गता समावेशी र अनुकूलन गर्नुपर्दछ ।