बल फ्याँक्ने खेल

आज हामी हाम्रो कक्षाका अपाङ्गता भएका लगायत सबै बालबालिकाहरूलाई सहभागी गराएर “बल फ्याँक्ने खेल” खेलाउने छौँ । यो एक रमाइलो खेल हो जसले बालबालिकाहरूको आँखा र हातको समन्वय, स्थूल र सूक्ष्म मांसपेशीको तथा धैर्यताको सिप विकास गर्न र उनीहरूलाई समूहमा रमाउन प्रोत्साहन गर्छ ।

यो खेल खेल्नका लागि आवश्यक सामग्रीहरू:

  • नरम बलहरू (कपडा वा स्पन्ज)
  • सबै बालबालिकाहरूको अवस्थाअनुसार विभिन्न आकारका बलहरू प्रयोग गर्न सकिन्छ ।
  • कसैलाई बल समाउन भारी हुने अवस्था छ भने कागजलाई प्रयोग गरेर पनि बल बनाउन सकिन्छ ।
  • फल फ्याँक्ने टार्गेटका रूपमा प्रयोग गर्न बाल्टिन, बास्केट (डालो), बाकस, कार्टुन वा अरू उपलब्ध भाँडो प्रयोग गर्न सकिन्छ ।

यो खेल सबै बालबालिकाहरूलाई सहभागी गराएर खेलाउने तरिका:

  • केही बालबालिकालाई एकातिर उभिन लगाउने र टार्गेटको रूपमा प्रयोग गरिएको सामग्रीलाई उनीहरूभन्दा थोरै अगाडि राख्ने । अब शिक्षकले सबै बालबालिकाहरूलाई खेलका बारेमा बुझाउने । यस खेलमा बालबालिकाले बललाई टार्गेटमा छिराउने प्रयास गर्ने छन् । बहिरा बालबालिकाहरूलाई सके साङ्केतिक भाषा नसके प्रचलित स्थानीय सङ्केत र इशाराको माध्यमबाट खेलमा समावेश गराउने तर शिक्षकले सबै बालबालिकाले निर्देशन प्रस्ट रूपमा बुझेको निश्चित गर्नु आवश्यक हुन्छ ।
  • दृष्टिसम्बन्धी कठिनाइ भएका बालबालिकाहरूलाई सबैभन्दा पहिला टार्गेट कहाँ छ भनेर थाहा दिने । अगाडि आएर स्पर्श गर्न दिने र उनीहरूले बल फ्याँक्दा पनि शिक्षक वा अर्को साथीले टार्गेटको छेउमा घण्टी वा आवाज आउने अर्को कुनै सामग्री बजाएर पनि जानकारी दिन सकिन्छ ।
  • सूक्ष्म तथा स्थूल मांसपेशी चलाउन कठिन हुने बालबालिकाहरूलाई हलुका बल वा कागजलाई नै बल बनाएर फ्याँक्न दिने । त्यसै गरी टाढा बल फ्याँक्न कठिनाइ हुने बालबालिकाहरूको सहजताका लागि टार्गेटलाई नजिक राख्न सकिन्छ ।
  • बहिरा तथा अन्य सञ्चार गर्न कठिनाइ भएका बालबालिकाहरूलाई सङ्केत, दृश्यात्मक तथा अन्य माध्यमबाट खेलको जानकारी गराउने । उनीहरूले बल टार्गेटमा पुर्‍याउँदा अरू सबैले साङ्केतिक भाषामा ताली बजाएर हौसला दिन सकिन्छ ।
  • बल फ्याँक्दा बालबालिकाहरूले आफ्नो टाउको माथिबाट, खुट्टा मुनिबाट, दायाँबाट वा बायाँबाट जसरी पनि बल फ्याँक्न पाउँछन् ।
  • यदि कोही बालबालिकालाई बल फ्याँक्न सहयोग चाहिने भए, शिक्षक वा अर्को विद्यार्थीले सहयोग गर्ने । यसै गरी सिकाइमा समस्या भएका वा अन्य शारीरिक वा बौद्धिक कठिनाइ भएका बालबालिकालाई बल फ्याँक्न थप समय चाहिन सक्ने हुनाले उनीहरूलाई अरूलाई भन्दा थप समय प्रदान गर्ने ।
  • बालबालिकाहरूको सिर्जनशील सिप विकास गर्न उनीहरूलाई बल फ्याँक्ने विभिन्न तरिका देखाउन प्रोत्साहन गर्न पनि सकिन्छ ।

यसरी बालबालिकाहरूलाई रमाइलो गराउँदै समूहमा काम गर्न सिकाउन तथा उनीहरूको शारीरिक तथा बौद्धिक विकासका लागि बल फ्याँक्ने खेल खेलाउन सकिन्छ । साथै यो खेल अपाङ्गता भएका लगायत सबै बालबालिकाले सँगै खेल्न सक्छन् तर खेलमा प्रयोग हुने सामग्री, नियम र निर्देशनलाई आवश्यकताअनुसार अपाङ्गता समावेशी र अनुकूलन गर्नुपर्दछ ।